पछिल्लो समय नेपाली फुटबलमा दर्शकको खडेरी बढ्दो छ। विदाका दिन र दर्शक अनुकूल मानिएको साँझको समयमा हुने खेलमा पनि दशरथ रङ्गशाला भरिभराउ हुँदैन। घट्दो फुटबल दर्शक क्रेजबीच आज नेपाल यमनसँग प्रतिस्पर्धा गर्दैछ।
फिफा विश्वकप छनोटअन्तर्गत यमनविरुद्धको खेल एन्फाले साँझ ७ बजेका लागि राखेको छ। तुलनात्मक रुपमा नेपाली दर्शकका लागि यो समय घर फर्किने हो। यद्यपि एन्फाले साँझको समयमा खेल राखेर नयाँ प्रयोग गर्दैछ। तर यो प्रभावकारी हुनेमा भने शंका गर्न सकिन्छ। चिसो मौसम अनि समसाँझै निदाउने काठमाडौंमा मध्यरातमा दर्शकले सार्वजानिक सवारी पाउने सम्भावना कमजोर हुन्छ। त्यसैले यो प्रयोग एन्फाका लागि थप घातक बन्ने खतरा छ।
आफै बस ब्यवस्था गर्ने एन्फाको निर्णय लोकप्रिय कि स्टन्ट मात्र?
त्यसोत सम्भावित आलोचनाबाट बच्न एन्फाले आफै विभिन्न रुटका लागि बसको ब्यवस्था गरेको छ। एन्फाले प्रारम्भिक चरणमा १५ वटा बसको ब्यबस्था गरेपनि आवश्यक्ता अनुसार थप्न सक्ने जनाएको छ। एन्फा प्रवक्ता सुरेश साह यो फुटबलमा नयाँ प्रयोग भएको बताउँछन्। साह भन्छन,’हामीले फुटबलमा नयाँ प्रयोग गर्दैछौं। यसको प्रभावकारीताले आगामी दिनमा कसरी अघि बढ्ने तय हुनेछ। यो हाम्रो लागिपनि महत्वपूर्ण छ। त्यसैले आज हामी आफैले बस ब्यवस्था गरेर अवसर परेका दर्शकहरूलाई गन्तब्य पुर्याउने निर्णय गरेका हौं।’
उनले दशरथ रङ्गशालामा उपस्थित सबै दर्शकका लागि नभइ समास्यमा परेर गन्तब्यमा पुग्न नसक्ने दर्शकहरूलाई ध्यानमा राखेर यो निर्णय गरेको बताए। प्रवक्ता साहाले भनेका छन्,’ हामी चाहन्छौं कि सबै दर्शकहरू रङ्गशालामा उपस्थित भएर नेपाललाई समर्थन गरुन्। त्यसका लागि नै हामीले सहजीकरण गरेका हौं।’ उनले थपेका
छन्,’अधिकांश दर्शकहरूको आफ्नो साधन हुन्छ। थौरै दर्शकसँग मात्र आफ्नो साधन र विकल्प हुँदैन। त्यस्ता दर्शकहरूलाई मध्यनजर गर्दै हामीले बस एसोसिएसनहरूसँग नै समन्वय गरेका हौं।’ प्रवक्ता साहले आवश्यक्ता अनुसार बस थप्न सकिने भन्दै नयाँ प्रयोगलाई सफल बनाइदिन आग्रह गरे।
प्रशिक्षकको रणनीतिक चाल कति प्रभावकारी?
एन्फाले नयाँ प्रयोग भनेपनि साँझको समय प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले रणनीतिक रुपमा चालेको कदम हो। उनकै आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको थियो। प्रशिक्षक अनेसेलेपनि उक्त कुरा स्वीकार्दै दर्शकको सहजताका लागि यस्तो गरेको बताए।
पनि उनले चिसो मौसममा यमनका खेलाडीलाई केही असहज हुने आंकलनबीच साँझको समयमा खेल राखेको एन्फा स्रोतले बतायो। एन्फा स्रोतले भन्यो, ‘हामीले प्रशिक्षकलाई यो दर्शकका लागि अनुकूल समय होइन त्यसैले हाम्रो नियमित ५:३० कै समयमा खेल गराउन आग्रह गरेका थियौं। तर उहाँले मान्नु भएन। उहाँले यो टाइमलाई रणनीतिक रुपमा बुझ्न भनेपछि हामीले स्वीकारेका हौं।’
खेलअघि आयोजित प्रि-म्याच पोस्ट कन्फ्रेन्समा प्रशिक्षक अल्बर्टोले साँझ ७ बजे खेल राख्नको लागि आफैले आग्रह गरेको बताए। उनले भने,’मेरै आग्रहमा साँझ ७ बजेको खेल राखिएको हो।’ उनले त्यसको कारण बारे भने,’कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउनका लागि पर्याप्त र अनुकूल हुन्छ। नेपाली फुटबलका लागि साथ दिन दर्शकहरूलाई सहज समय यो हुन सक्छ भनेर हो।’ उनले सबै दर्शकलाई रङ्गशाला आएर सहयोग गर्न पनि आग्रह गरे।
अनलाइनमा छैन टिकट, मूल्यसमेत मंहगो!
एन्फाले यमनविरुद्धको खेलका लागि टिकट आफै विक्री गर्दैछ। यसअघि एन्फाले खुल्ला टेन्डरमार्फत् टिकट बिक्रेता छान्ने गरेको भएपनि यो पटक आफै टिकट विक्री गर्न लागेको हो।
अघिल्ला पटकहरुमा एन्फाले आफैले टिकट विक्री गर्दा दुरुपयोग हुने सम्भावना रहने भन्दै टेन्डर गर्ने गरेको एन्फाले यो पटक आफै टिकट विक्री गर्दा कतिपय एन्फा भित्रैका प्रतिनिधिले विरोध जनाएका छन्। करिब ५० लाख रकम बराबरको टिकट विक्रीको लक्ष्य राखेको एन्फा आफैले भौतिक उपस्थितिमा टिकट विक्री गरिरहेको छ।
साँझ ७ बजेबाट सुरु हुने खेलका लागि एन्फाले साधारणतर्फ ४०० र भिआइपीतर्फ १ हजार टिकट मूल्य निर्धारण गरेको छ। तर यो टिकट दर्शकले अनलाईनमार्फत् खरिद गर्न सक्दैनन्। अर्थात् कुनैपनि वालेट या अनलाइन ‘प्लेट फर्मु’मा तपाईँ टिकट किन्न पाउनु हुन्न।
एन्फा उपाध्यक्ष दावा लामाले अनलाइनमा टिकट उपलब्ध नभएको बताए। उनले भने,’यो पटक एन्फाले आफै टिकट विक्री गर्ने निर्णय गरेका कारण छोटो समय भएकाले अनलाइनमार्फत् हामीले टिकट विक्रीमा राखेका छैनौं। बिहानैबाट दशरथ रङ्गशालाको गेटबाट टिकट विक्री सुरु भइसकेको छ।’
प्रविधिले झनै सहज बनाइरहँदा एन्फा भने पुरातन ढर्रामानै आफूलाई अभ्यस्त गराइरहेको छ। विकास नारायण श्रेष्ठ र पुरुषोतम थापालाई टिकेटिङको जिम्मा एन्फाले दिएको छ। तर सबै टिकट भौतिक रुपमा नै उपस्थित भएर दर्शकले खरिद गर्नुपर्ने छ। उपाध्यक्ष लामाले भने,’यो हामीले नयाँ प्रयोग गरेको हो। आफै टिकट विक्री गरेर एन्फाले यो पटक नयाँ प्रयोग गर्दैछ। हामी दर्शकलाई सहजतका लागि कुनै कसर बाँकी राख्दैनौं।’