भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको दाबी गरेको छन्।
बिजुक्छेंले दुवै पार्टीले आफूलाई कम्युनिष्ट भने पनि उनीहरुसँग कम्युनिष्टहरुमा हुनुपर्ने आचरण नभएको टिप्पणी गरेका हुन्।
सोमबार देश सञ्चारसँगकोे कुराकानीमा उनले भने, ‘माओवादी कम्युनिष्ट होइन। एमाले पनि उही हो। माओवादीमा माओवाद भन्ने नै छैन। उनीहरुले अब नाम नफेरी हुँदैन।’
अध्यक्ष बिजुक्छेंले आफूलाई कम्युनष्टि भने पनि दलहरुले जनताका लागि केही नगरेको बरु नक्कली कुरा गरेर खाएको आरोप लगाए।
वैचारिक प्रष्टता नहुँदा दलहरुमा समस्या देखिएको उनको भनाइ थियो। कम्युनिष्टमा हुनुपर्ने न्यूनतम मान्यता पनि कायम गर्न नसकेको उनले गुनासो गरे। ‘हाम्रा नेताहरुमा कमी कमजोरी छन्। कम्युनिष्टहरुमा प्रष्टता छैन,’ उनले अगाडि भने, ‘अहिलेसम्म धेरैपटक कम्युनिष्ट भन्नेहरु सत्तामा आउँदा पनि भूमिसुधारको शब्द पनि उच्चारण गरेनन्। उद्योग धन्दा निजीकरण गरे।’
दलहरुले समाजवाद भने पनि पुँजीवादलाई नै बलियो बनाउने काम गरेको उनले दाबी गरे।
बिजुक्छेंले १२ बुँदे सहमतिपछि देशमा भारतीय हस्तक्षेप बढेको विश्लेषण गरे। नेताहरुले विदेशीका लागि काम गर्ने तर देशका लागि नगर्ने प्रवृत्ति हावी हुँदै गएको आरोप बिजुक्छेंले लगाए। उनले भने, ‘हाम्रा नेता विदेशीका लागि काम गर्छन्। देशको हितमा बोल्नै नसक्ने भएका छन्। अरुका लागि काम गर्नु भनेको दास बन्नु हो।’
ब्रिटिसले भारतलाई गरेजस्तै व्यवहार भारतले नेपाललाई गरेको उनले दाबी गरे। ‘ब्रिटिसहरुले भारतलाई गरेको व्यवहार भारतले यिनलाई (नेताहरु) गदर्छ,’ बिजुक्छें अगाडि भने, ‘यिनीहरुले भारतको विपक्षमा बोल्न सक्दैनन्। बोले अर्कोबाट काम लिन्छ।’