काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ गतेदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भेला तथा प्रदर्शनका लागि निषेध गरेको छ। सोमबार साँझ एक सूचना जारी गर्दै प्रशासनले दुवै पक्षले राखेको मंसिर सात गरेको प्रदर्शनका कारण शान्ति सुरक्षामा चुनौती थपिने भएका कारण उक्त निर्णय भएको बताएको छ।
सोमबार दुवै पक्षसँगको छलफलपछि फरक फरक स्थानमा सभा राख्न सुझाव दिए पनि नमानेका कारण दुर्गा प्रसाईं र एमालेको युवासँगको एकैसाथ राखिने सभाका कारण झडप र भिडन्तको स्थिति उत्पन्न हुने देखिएकाले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन तथा सभाका लागि निषेध गरेको हो।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारी तथा संवेदनशील निकाय भएकाले पनि त्यहाँ प्रदर्शन गर्न नदिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ। यस्तै प्रशासनले निषेध गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला नहुन पनि निर्देशन दिएको छ।
दुर्गा प्रसाईंले राजतन्त्रको वकालत गर्दै आएका छन्। यता एमाले नेता महेश बस्नेतले प्रसाईंलाई चुनौती दिन शक्ति प्रदर्शन गर्ने उद्देश्यले उक्त कार्यक्रम राखेका हुन्।