काठमाडौं । संविधान दिवसको अवसरमा कैदमाफी पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको जनाएकी छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्। उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आए पनि अन्ततः न्याय पाएको जनाइन्।
उनले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नलागिकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको जनाइन्। उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको जनाइन्।
उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए। तर मेरो टिमले मेरो साथ छोडेन। होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए। म पछि हटे मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ।’
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा कैदमाफी दिएको थियो। रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।