काठमाडौं । सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियो सहरमा हुन लागेको पाँचौ विश्व नेपाली स्वास्थ्य सम्मेलनको सबै तयारी पूरा भएको छ । गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरु सम्मिलित सम्मेलनमा ठूलो संख्यामा स्वास्थ्यकर्मीको सहभागिता रहने छ । विदेशमा रहेका नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समस्याबारे जानकारी लिने उद्देश्यले जापानको टोकियो सहरमा सम्मेलनको आयोजना तय गरिएको एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले बताए ।
केही महिना अगाडि अमेरिकाको टेक्सस सहरमा पहिलो पटक सम्मेलन गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एकठाउँमा ल्याएर नेपालीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिनु हो । यसले नेपाल र नेपाल बाहिर रहेका स्वास्थ्यकर्मी र आम नागिरकमा सकारात्मक सन्देश प्रवाह भएको छ । स्वास्थ्यमा समस्या देखिएका नेपाली नागरिकहरुलाई आवश्यक सहयोग र त्यहा अफ्ठेरो परेकाहरुको उद्धार जस्ता कार्यमा पनि कमिटी अग्रणी श्रपमा लागेको छ ।
‘यो सम्मेलनले नेपालबाहिर रहेका स्वास्थ्यकर्मीको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ र नेपालीहरुमा कसरी सेवा पुर्याउन सकिन्छ भन्ने रहेको छ, अध्यक्ष सापकोटा भन्छन् , ‘सम्मेलनले विश्वभर काम गर्ने र बसोबास गर्ने नेपाली मूलका मानिसहरूको स्वास्थ्यलाई सम्बोधन गर्दछ । सम्मेलनमा बायोमेडिकल विज्ञान, चिकित्सा विज्ञान, जनस्वास्थ्य, प्रयोगशाला विज्ञान, स्वास्थ्य अनुसन्धान, र विश्वव्यापी रूपमा आप्रवासीहरूलाई असर गर्ने स्वास्थ्य समस्याको रोकथाम, उपचारसँग सम्बन्धित ३० भन्दा बढि प्रस्तुतिहरू समावेश रहेको अध्यक्ष डा. सापकोटाले बताए ।