संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।
मन्त्रिपरिषद् बैठकले दिवङ्गत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।