काठमाडौं । मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।
उनको हृदयघातका कारण निधन भएको थियो। घरमा हृदयघातका कारण लडेका नेम्वाङमा महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएपछि राति साढे १ बजे मृत घोषित गरिएको थियो।
हाल इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेम्वाङ इलाम नगरपालिका- २ सुन्तलाबारीमा २००९ फागुन २८ गते जन्मिएका थिए।
उनको श्रीमती, दुई छोरा र दुई छोरी छन्। बिए, बिएलसम्मको अध्ययन गरेका नेम्वाङ सरल र मृदुभाषीका पर्यायका रूपमा परिचित थिए।
उनी चार दशकदेखि राजनीतिमा क्रियाशील रहँदै आएका थिए। २०२८ सालबाट कम्युनिष्ट पार्टीमा संलग्न रहेर राजनीतिसँगै उनी प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउने थोरैमध्येका एक व्यक्ति हुन्।
२०६२/०६३ को जनआन्दोलनपछि उनी सक्रिय कानुन व्यवसाय छाडेर राजनीतिमा लागेका थिए।
नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभापछि दोस्रो संविधासभासम्म (अध्यक्ष/सभामुख) को भूमिका निर्वाह गरेका थिए। उनी नेपाल बार एसाेसिएसनको महासचिव समेत भएका थिए।
संविधान निर्माणको जटिल घडीमा पररस्पर मान्यतामा उभिएका दलहरु सहमतिका लागि सधैं उत्प्रेरित गर्ने स्वभाव र शैली आज पनि उत्तिकै चर्चित छ। अक्सर आफ्ना बोलीहरूमा सहमति र सहकार्यमा जोड दिने नेम्वाङको यही शैलीका कारण पहिलो संविधानसभा विघटन हुँदा दोस्रो पटक पनि अध्यक्ष भएका थिए।
उनी २०२८/२०२९ सालमा अनेरास्ववियुका तर्फबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएपछि कम्युनिस्ट पार्टीको सम्पर्क आएका थिए।
२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहँदा कम्युनिस्ट पार्टी तत्कालीन कोअर्डिनेसन केन्द्र (माले) मा संगठित भएका नेम्वाङ नेकपा (एमाले) को केन्द्रीय सदस्य २०४७ मा भए। त्यसपछि एमाले कानुन विभाग प्रमुखको जिम्मेवारी सम्हाले । नेकपा स्थायी कमिटी सदस्य २०७५ सालमा भएका उनी पछिल्लो समय अध्यक्ष ओलीको विश्वासिलो नेताका रुपमा सक्रिय थिए।
२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य भएका नेम्वाङ प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन २०५६ मा इलाम २ बाट निर्वाचित भए। संविधानसभा सदस्य निर्वाचन २०६४ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा पुनः इलाम २ बाटै चुनिए।
त्यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ र २०७९ मा पनि उनी इलाम २ बाटै निर्वाचित भएका थिए।
नेम्वाङ पहिलोपटक २०६३ पुनःस्थापित प्रतिनिधिसभा सभामुख भए। संविधानसभा अध्यक्ष २०६५ र २०७० भए भने त्यसअघि सार्वजनिक लेखा समिति सभापतिका रूपमा २०५६कोे संसदीय कालमा काम गरेका थिए। संसदीय दलको उपनेताका रूपमा उनी २०७४ र २०७९को चुनावपछि पार्टीबाट संसदीय फाँटको नेतृत्व गर्दै आएका थिए।
मनमोहन अधिकारीको लोकप्रिय २०५१ सालको सरकारमा उनी न्याय कानुन तथा संसदीय राज्यमन्त्री भएर काम गरेका थिए।