काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको जनाएका छन्।
मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन्।
नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाको भनाइ छ। नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि थापाले उल्लेख गरे।
०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रुपमा स्थापित भएको थापाले बताए। महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए।