एजेन्सी । मोरक्कोमा शुक्रबार राति शक्तिशाली भूकम्प जाँदा २ हजार १२ जनाकाे मृत्यु भएकाे छ भने २ हजार ५१ भन्दा बढी घाइते भएका छन्।
६. ८ रेक्टरकाे भूकम्प गएकाे हाे।
सुरुमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६३२ रहेको बताइएको थियो तर पछि यो संख्या बढ्याे।
मृतकमध्ये आधाभन्दा बढी अल हाज र तारुदान्ट प्रान्तका छन्। यसबाहेक मोरक्कोको ओआरजाजेते, चिचौआ, अजीलाल र युसेफिया प्रान्तका साथै माराकेश, अगादिर र कासाब्लान्का क्षेत्रका मानिसले पनि ज्यान गुमाएका छन्।
स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुनसक्ने बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण-पश्चिममा १८.५ किलोमिटर गहिराइमा थियो। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो।
मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार यस भूकम्पबाट सबैभन्दा बढी क्षति सहरबाहिर रहेका पुराना बस्तीहरूमा भएको छ।
मोरक्कोका धेरै नागरिकहरूले सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो र तस्विरहरू पनि पोस्ट गरेका छन्, जसमा भवनहरू भत्किएपछि धुलोको बादलमा परिणत भएको देख्न सकिन्छ।
मोरक्कोले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। राजा मोहम्मद छैठौंले प्रकोपबारे छलफल गर्न बैठकको अध्यक्षता गरेपछि राष्ट्रिय शोकको विज्ञप्ति जारी गरिएको थियो।
तीन दिने राष्ट्रिय शोकमा सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने बताइएको छ।
भूकम्प प्रभावित मोरक्कोलाई सहयोग गर्न अल्जेरिया अगाडि सरेकाे छ। अल्जेरियाले भूकम्प प्रभावित मोरक्कोमा मानवीय सहायता बोकेका विमानहरूलाई आफ्नो हवाई क्षेत्रबाट जान दिने निर्णय गरेको हाे।
त्यहाँको राष्ट्रपति कार्यालयले विज्ञप्ति पनि जारी गरेको छ। मोरक्कोसँगको सम्बन्धमा दरार आए पनि अल्जेरियाले यो कदम चालेको हो।