बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई सर्पदंशको उच्च जोखिम भएको महिना मानिन्छ । अस्पतालमा मात्रै होइन, सर्प उद्धारकर्ताहरूले समेत भदौमै सबैभन्दा धेरै सर्पको उद्धार गर्ने गरेको बताउनुहुन्छ । सर्प उद्धारकर्ता चेतबहादुर सारूले तराईमा वैशाख र जेठदेखिनै सर्पदंशको जोखिम सुरू हुने बताउँदै भदौमा सबैभन्दा बढी जोखिम हुने बताउनुभयो । उहाँले अहिले दैनिक एक दुईवटा सर्प उद्धार गरिरहेको बताउँदै सर्प उद्धारका लागि विभिन्न स्थानबाट बोलाएपछि जाने र जङ्गलमा लगेर छाड्ने गरेको बताउनुभयो । अहिले गोमन र करेतजस्ता विषालु सर्पको बिगबिगी बढेको बताउँदै सारुले भदौ महिनामा पानी पर्दा सर्पले ओभानो बस्ने ठाउँ खोज्दा घरभित्र पस्ने गरेको बताउनुभयो । सारूले मात्रै गर्मी सुरू भएयता करिब एक सय वटा विषालु सर्पको घरभित्रबाट उद्धार गरेर जङ्गलमा छाडेको बताउनुभयो । उता लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार एक वर्षको अवधिमा ६ सय ३३ जना सर्पदंशका बिरामी उपचारका लागि आएकोमा ११ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका ट्रपिकल डिजिज युनिटका प्रमुख दयासागर पन्थीले यही साउन महिनामा मात्रै सर्पले टोकेका एक सय ६४ बिरामी उपचारका लागि आएकोमा विषालु सर्पको टोकेका विरामीको सङ्ख्या १९ रहेको बताउनुभयो । उहाँले प्रत्येक वर्ष सर्पदंशका बिरामी उपचारका लागि आउनेक्रम बढिरहेको बताउनुभयो । लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमहीको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो । यसैबीच तराईमा सर्पदंशका घटना बढेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र विषालु सर्पको पहिचान कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक तालिम दिइएको हो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा तिनदिने तालिम भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले सर्पदंश भैहालेमा कसरी छिटो उपचारको व्यवस्था गर्ने भन्ने विषयमा ढिलाई गर्न नहुने गरि सेवा दिनुपर्ने बताउनुभयो ।
उहाँले अधिकांश बिरामी ढिलोगरि अस्पतालमा आउने अनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा मानवीय क्षति हुने गरेको भन्दै त्यो हुन नदिन यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पदंशका घटना धेरै रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले बताउनुभयो । -गोरखापत्र