लहान – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताएका छन्।
आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरी आश्रम’मा नेता गिरीको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्व नेता गिरीको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले गिरीबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेको बताए।
‘प्रदीप गिरी मौलिक र विलक्षण चिन्तनको धनी हुनुहुन्थ्यो। उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने उहाँको आफ्नै मौलिक दृष्टिकोण थियो। जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले उहाँलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रदीप गिरीको तुलना अरु कोहीसँग गर्न कठिन छ। उहाँको उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ।’
प्रदीप गिरी मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरीको पूर्णकदको शालिक अनावरण गरे। समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरीको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस