काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले मंगलबार आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर थापाले यादवमाथिको आक्रमणलाई सन्काहाले हान्यो भनेर सामसुम पार्न खोजिएको आरोप लगाएका हुन्।
उनले भने, ‘सन्काहाले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ। नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु।’
साथै, थापाले यस विषयमा गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्। सरकारले शान्ति सुरक्षाका विषयमा विशेष पहल गर्नुपर्ने भन्दै उनले सदनबाट गृहमन्त्रीको ध्यानकर्षण गराएका हुन्।
‘गृहमन्त्रीलाई सोध्न चाहन्छु’, समय लिएर थापाले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने?’
बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गरेका थिए।
कार्यक्रममा कालो झोला बोकेर बसिरहेका सापकोटाले यादवमाथि आक्रमण गर्नुको कारण खुलेको छैन। सापकोटालाई प्रहरीले सिंहदरबार प्रहरी वृत्तमा लगेको थियो।
घटनामा घाइते भएका यादवको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।