काठमाडौं । दार्जीलिङका लेखक बद्रीनारायण प्रधानको सन् १९४० मा प्रकाशित मौलिक नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण कृति प्रकाशित भएको छ ।
झापा, शनिश्चरेकी एक जमिन्दारकी छोरी मालती घिमिरेको जीवन, संघर्ष र यात्रा विवरणमा आधारित उपन्यासलाई अनमोलप्रसादले अंग्रेजीमा अनुवाद गरेका हुन् ।
आधुनिक नेपाली उपन्यास लेखनको जगमा रहेको ‘मौली’लाई अर्का उपन्यासकार प्रज्वल पराजुलीले ‘परम्परा र आधुनिकता बीचमा संघर्षरत समयको कथा भनेका छन् जहाँबाट राष्ट्रिय पहिचान, जातियता र नारीवादजस्ता बिषयमा सघन संवाद सुरु भएको देखिन्छ ।’ ‘राजनीतिक सिमाना जति नै दह्रिलो भए पनि सामाजिक अनि सांस्कृतिक विषय एकअर्कामा कहिल्यै बाधक बन्न सक्दैनन् ।
यी सधैं चलायमान विषय हुन् भनेर लेखक प्रधानले ‘मौली’मा देखाएका छन्,’विश्लेषक हर्कबहादुर क्षेत्री भन्छन्, ‘शनिश्चरेकी मालतीको दार्जीलिङ यात्रा र त्यहाँबाट दिल्ली र पूर्वी रसियासम्मको यात्राले त्यो युगमा एउटी महिलाको संघर्ष गाथालाई पनि सम्झाउँछ ।’ गान्तोकको रचना बुक्सले प्रकाशनमा ल्याएको कृतिमा सन् ५० को दशकको नेपाल र भारतको शाशकीय नवउदयको चित्र पनि झल्कने क्षेत्रीले जनाए । क्षेत्रीका यसअघि ‘भुमरी’, ‘संगत’, ‘सम्झनाहरू’, ‘च्याखुङ डायरी’ जस्ता कृति प्रकाशित छन् ।
प्रधानले म्याक्सिम गोर्कीको प्रख्यात कृति ‘मदर’लाई नेपालीमा अनुवाद गरेर ‘आमा’ नाममा प्रकाशनमा ल्याएका थिए । शिक्षाविद्, लेखक एवं माक्र्सवादी व्याख्याता प्रधानलाई भारतीय नेपाली प्रगतशील साहित्य लेखनमा अगुवा मानिन्छ । प्रधानको सन् २०१० मा पश्चिम बंगालको बाग्राकोटमा ८३ वर्षको उमेरमा निधन भएको थियो ।