भक्तपुर । साहित्यकार बाबुकाजी सुवाल ‘विकेश निराशी’ द्वारा लिखित उहाँको पिता बिलबहादुर सुवालको बार्षिक पुन्य तिथिको अवसरमा स्मृतिग्रन्थ ‘स्मृतिमा मेरा बाबा बिलबहादुर सुवाल’ गजल संग्रह साथमा वंशावलीको लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
पुरोहित हरिबैकुण्ठ खनालको प्रमूख आतिथ्यमा आफन्तहरूको जमघटको बार्षिक पुण्य तिथि कार्यक्रमका बीच विमोचन कार्य सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथि खनालज्यूले यस प्रकारको पुस्तकले आफ्नो पिता पुर्खाको गुणलाई सधैं स्मरण गराइरहने र आफ्ना आफन्तहरू कहाँ कहाँ पुगेका छन् र कुन अवस्थामा छन् भन्ने कुरा भावी पुस्तालाई जानकारी हुने भएकाले यो पुस्तक एउटा नमूनाको रुपमा रहने बिचार व्यक्त गर्नुभयो ।
यस पुस्तकका प्रकाशक पूर्णभक्त सुवालले यो पुस्तक एकदमै महत्त्वपूर्ण भएर पनि पहिलो प्रयास भएकोले यसमा समेटिएको एकदमै संक्षिप्त भएको र अझ पछि अर्को संस्करणमा सबैको साथ र सहयोगबाट यो भन्दा विस्तृतरूपमा निकाल्नुपर्ने कुरा बताउनुभयो । बिलबहादुर सुवालको जेठो दाजु बुध्दिकुमार सुवाल, माहिलो दाजु शंखबहादुर सुवाल, पत्नी रत्नमाया सुवाल, भतिजा प्रकाशक पूर्णभक्त सुवाल र भाञ्जा रामकुमार माकजूले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
बिलबहादुर सुवालका भाञ्जा रामकुमार माकजूले आफ्ना पिताको सम्झनामा लेखिएको यो स्मृतिग्रन्थ निकै मार्मिक भएको र बाबुकाजी सुवाल भाइले आफ्ना पिताप्रति सक्दो कर्तव्य निभाएको बताउनुभयो ।