काठमाडौं । उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ। ‘अनावरण’ सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो।
सङ्ग्रहका कथाहरूमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ।
हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरुमा पढ्न पाइन्छ।
पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरु पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन्।
कलम प्रकाशनले बजारमा ल्याएको कथासङ्ग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ।