काठमाडौं / साउदी प्रो लिग क्लब अल-इतिहादले लिभरपुललाई उसका स्टार फर्वाड मोहम्मद सलाहका लागि १ सय ५० मिलियन पाउन्डको अफर गरेको छ। तर लिभरपुलले साउदी क्लबको उक्त प्रस्ताव अस्विकार गरेको बिबीसीले जनाएको छ।
३१ वर्षीय सलाहलाई साउदी क्लबले १ सय मिलियनबाट ‘एडअन’ सहित बढाएर १ सय ५० मिलियन पुर्यायएको थियो। तर लिभरपुलले आफ्ना स्टार फर्वाड बिक्रिका लागि क्लब तयार नभएको जनाएको छ। क्लबले लिभरपुलका लागि सलाह निर्विकल्प भएको जनाएको छ।
इजिप्सियन स्टार सलाह २०१७ मा इटालियन क्लब रोमबाट इंग्लिस क्लब लिभरपुल पुगेका थिए। उनले गत समरमा आफ्नो सम्झौता लिभरपुलमा तीन वर्ष लम्ब्याएका थिए। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सलाह क्लबका लागि शतप्रतिशत प्रतिबद्व रहेको भन्दै उनको स्थानतरणबारे क्लबले नसोचेको बताएका थिए।
साउदी क्लब अलइतिहाद भने स्टार खेलाडी भित्राउन अझै प्रयासरत रहेको छ। ७ सेप्टेम्बर मा ट्रान्सफर विन्डो बन्द हुने बेलासम्मपनि उसले युरोपका स्टार खेलाडी भित्राउने प्रयास जारी राख्ने छ।