काठमाडाैं । भक्तपुर बाल सुधार गृहमा मृत भेटिएका १८ वर्षीय कमल बस्नेतको भिसेरा परीक्षण हुने भएको छ।
भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा नमूना पठाइएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। मृत्युको कारण यकिन गर्न भिसेरा गर्न लागिएको उनले बताए।
गत भदौ २ गते भक्तपुर सुधार गृहमा कमल मृत भेटिएका थिए। उनको मृत्युपछि सुधार गृहमा तनावग्रस्त बनेको थियो।
त्यसको भोलिपल्ट सुधार गृह तोडफोड गरी त्यहाँ रहेका २५५ बालक भागेका थिए।
घटनाको एक सातापछि कमलका परिवार सहमत भएपछि त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमर्टम गरिएको थियो।
डिएसपी पाठकका अनुसार पोस्टमर्टमको पूर्ण रिपोर्ट आइसकेको छैन। भिसेरा परीक्षणपछि मात्रै सबै रिपोर्ट आउने र मृत्युको कारण पनि खुल्ने उनले बताए।
भिसेरा परीक्षणको रिपोर्ट आउन कम्तिमा एक महिना लाग्ने डिएसपी पाठकले बताए।
भदौ ११ गते कमलको शव उनका परिवारले बुझेका थिए। यथोचित राहत रकम उपलब्ध गराउने सहमतीपछि उनका परिवारले शव बुझेका थिए। सुधार गृहले पनि कमलको परिवारलाई आर्थिक सहायता प्रदान गरेको थियो।