काठमाडौं / एसियाकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बुधबार पाकिस्तानको सामना गर्दै छ। पाकिस्तानसँग खेल्नु अघि नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो टिमका लागि हरेक बल महत्वपूर्ण भएको बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले पाकिस्तान अनुभवी र बलियो टिम भएपनि मैदानमा नेपाल आफ्नो सक्दो उत्कृष्ट प्रदर्शनका लागि तयार रहेको बताए। उनले विश्वकप छनोट र इमर्जिङ कपको अनुभवले पाकिस्तानसँग प्रतिस्पर्धामा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। रोहितले भने ‘पाकिस्तानसँग खेल्न पक्कै पनि सहज छैन, तर हाम्रो ध्यान हरेक बलमा केन्द्रीत हुने छ।’ उनले विपक्षी भन्दा पनि हरेक बलमा फोकस भएर मैदानमा उत्रने बताए।
पाकिस्तानका कप्तान बाबर अजामले टिमको राम्रो मोमेन्टमलाई कायम राख्न मैदान उत्रिने बताए। उनले नेपाल विरुद्धको खेललाई सहज नलिएको बताए। उनले भने ‘क्रिकेट खेलमा कुनैपनि टिमलाई कमजोर सम्झिंदैनौं। हामी पहिलो खेलमा नेपाल विरुद्ध पनि सतप्रतिशत दिएर खेल्ने छौं। नेपाललाई कमजोर आँक्दैनौं।’ उनले भारतसँगको खेलका विषयमा संधै प्रतिस्पर्धात्मक रहने भन्दै सोही अनुसार प्रदर्शन गर्ने बताए।