काठमाडौँ – आइसिसी टी–२० महिला विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपालको अन्तिम अभ्यास खेल वर्षाले प्रभावित बनाएको छ।
आगामी ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा सुरु हुन लागेको प्रतियोगिताअघि नेपालले चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै च्याम्पियन बनेको थियो भने सोमबार थाइल्यान्डसँग अर्को अभ्यास खेल खेल्ने कार्यतालिका रहेको थियो।
वर्षाका कारण नेपाल र थाइल्यान्ड महिला क्रिकेट टोलीबीचको टी–२० अभ्यास खेल रद्द भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो। थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन्।
नेपालका लागि कविता कुँवरले २ विकेट लिँदा पूजा महतो, खुसी डंगोल र इन्दु वर्माले समान १–१ विकेट लिएका थिए। १ सय २८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले तीन बल खेल्दा वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
आइसिसी टी–२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’मा रहेर युएई, कतार, मलेसिया, भुटान र बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन्। शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकपमा छनोट हुने छन्।