चीनले विदेशबाट चीन भित्रिने कुनै पनि यात्रुका लागि कोभिड-१९ सम्बन्धी मापदण्डहरू थप खुकुलो पारेको छ। पछिल्लो पटक चीनले यात्रुहरूले चीन आउनुपूर्व गर्नुपर्ने कोभिड-१९ न्युक्लिक एसिड वा एन्टिजेन परीक्षणको प्रावधान हटाएको घोषणा गरेको हो।
यससम्बन्धी नीतिबारे चीनले औपचारिक घोषणा नगर्दा नेपालसहित विश्वका विभिन्न देशबाट चीनतर्फ यात्रा गर्नेहरूलाई अन्यौल हुने गरेको थियो।
सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले कोभिड परीक्षणसम्बन्धी पछिल्ला कदमहरू पनि हटाइएको औपचारिक घोषणा गरेका हुन्। उनले भने, ‘अगस्ट ३०, २०२३ देखि चीनआउने सबैका लागि कोभिड-१९ न्युक्लिक एसिड वा एन्टिजेन परीक्षणको आवश्यकता छैन।’ चीनले व्यवहारिक रुपमा यसअघि नै परीक्षण गर्न नपर्ने बनाइसकेको थियो। अब घोषित रूपमै कोभिडसम्बन्धी मापदण्ड खुल्ला गरेको हो।
यसअघि विश्व स्वास्थ्य संगठनले कोभिडलाई विश्वव्यापी स्वास्थ्य संकटबाट हटाइसकेको छ भने चीनले पनि ढिलो गरी कोभिडसम्बन्धी मापदण्ड सहज पार्दै अन्तर्राष्ट्रिय आउजाउलाई सहज पारेको थियो।