मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा सत्तारुढ दलले फोहोरी खेल खेलेको आरोप लगाएका छन्।
विराटनगरमा कोसी प्रदेश संगठन कमिटीको साताँै पूर्ण बैठकका क्रममा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताएका हुन्।
प्रदेशमा सत्ता रुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले गठन्धन संविधानविरोधी हो। यो गठबन्धन लोकतान्त्रिक मूल्य–मान्यताविरोधी हो। लोकतान्त्रिक मूल्य–मान्यता अभ्यास आचरण गर्न चाहँदैन। हामीले पहिलेदेखि भन्दै आएको हो। तर, यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दा पनि संविधान मिच्यो भनेर विरोध गर्नेहरू अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भनेजस्तो गर्ने प्रवृत्ति देखिएको छ।’
प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रीय गठबन्धन चुपचाप बसेको उनले बताए। सर्वोच्च अदालतले समेत गठबन्धन सरकारलाई अवैध बताइसकेका उनको भनाइ छ। उनले भने, ‘अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ। तैपनि, दलहरु त्यसलाई स्विकार्न चाहिरहेका छैनन्।’
अध्यक्ष ओलीले प्रदेशको नाम कोसी उपयुक्त भएको दाबी गरे। यद्यपि, पहिचानवादीको असन्तुष्टिप्रति उनले भने, ‘गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेका छन्। यहाँ सबै जातजाति किराँत, लिम्बूवान, मधेसी, थारु, शेर्पा सबैले न्याय पाउनुपर्छ।’
त्यसैगरी, उनले एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको उल्लेख गरे। उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को ? उहाँलाई कसले रोक्छ, कसरी रोक्छ। हामी त उहाँलाई निषेध गर्दैनौँ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यमा सक्रिय हुने अवस्था देखिए आउँदा हुने उनले बताए। उनले भने, ‘उहाँले आएर राम्रो राम्रो नेतृत्व गर्दा हुन्छ। उहाँलाई पार्टी राजनीतिमा स्वागत छ।’