अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा रंगभेदी हमलामा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेकाे प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।
तीन जनाको हत्यापछि आक्रमणकारीले आफैंलाई गोली हानेका छन्।
रिपोर्टका अनुसार आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएका थिए। यसपछि प्रहरी र आक्रमणकारीबीच आमनेसामने भएको थियो।
आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ।
आक्रमणकारीको नाम भने अझै खुलाइएको छैन। प्रहरीका अनुसार आक्रमणकारीसँग हलुका सेमिअटोमेटिक राइफल र एउटा ह्यान्डगन थियो।
यो हमला उनले एक्लै गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ।
आक्रमणकारीले घटनास्थलमा पर्चा पनि फालेका छन्।
सहरका मेयर डोना डीगनले घृणाबाट प्रेरित आक्रमण भएकाे बताइन्। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।