काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले एकता र सद्भावको पक्षमा उभिन देशवासीलाई अपिल गरेका छन् । धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा शनिबार साँझ अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन आग्रह गरेका हुन् ।
विमतिहरुलाई संवादको माध्यमबाट राजनीतिक दल, सामाजिक संस्था, धार्मिक समुदायको महत्त्वपूर्ण भूमिका हुने स्मरण गराउँदै प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि धरानवासीसहित सबै नेपालीमा अपिल गरेका छन् ।
‘सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्त्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सूत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ,’ अपिलमा भनिएको छ, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।’
प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न र एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने उल्लेख गरेका छन् । संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको समेत उनले बताएका छन् ।