ओखलढुङ्गा । केही दिनदेखिको निरन्तर भएको वर्षाका कारण गएको पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सिद्धिचरण लोक मार्गमा पर्ने माने भन्ज्याङ गाउँपालिका–४ भुसुनेमा सडकमा क्षति पुग्ने गरी गएको पहिरोले सडक अवरुद्ध बनाएको हो ।
शुक्रवार बिहान ६ः३० बजे गएको पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बु बाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सयौँ सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा र भुसुने क्षेत्रमै रोकिएका छन् ।
पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोस्ट केत्तुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय तह सँग आवश्यक पहल भइरहेको प्रहरी निरीक्षक सिंहको भनाइ छ । निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।