– प्रीति रमण
यतिबेला राष्ट्रिय बहसको विषय कोशी प्रदेश बनेको छ । यो प्रदेशको नामकरणको बेला नै सुरु भएको विवाद अहिले सरकार गठनको बेलासम्म पनि कायम नै छ । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने एकथरीको मागका कारण भएको ठूलो आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु नै भएको थियो । त्यो आन्दोलन अहिले केही मत्थर भएको छ । तर, सरकार गठनमा मत हाल्ने विषयमा सभामुख पनि सहभागी भएको विषयले नेपाली राजनीतिको विकृतिलाई छर्लंग देखाएको छ । केही नेताले भने यही विषयलाई अहिले पनि उठाउँदै आएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनुपर्ने र
यसले सामाजिक द्वन्द्व हटाउन सकिने जनाएका छन् । गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा उनले कोसी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको भन्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व. गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने जनाएका हुन् । प्रदीप गिरीले संविधान निर्माणको बेलामा राखेको विचारलाई मात्रै हेनेर् हो भने खासगरी नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामकरणजस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्ने थापाको भनाइ छ । यसले समाजको द्वन्द्वलाई चिरकालसम्म मेट्न सकिने उनको दाबी छ । त्यसका लागि कांग्रेसलाई बदल्न जरुरी रहेकोले पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक देखिएको थापाले जनाएका थिए ।
कोशीमा पहिलो प्रदेशसभाले राख्न नसकेको नाम दोस्रो प्रदेशसभाका प्रमुख दलहरूको दुई तिहाइभन्दा बढी मतले गत फागुन १७ गते कोशी प्रदेश राख्ने प्रस्ताव पारित गरेको थियो । त्यतिबेला प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेले कोशी प्रदेश नाम राख्न गरेको प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र राप्रपाले पनि समर्थन जनाएपछि नामकरणमा दुई तिहाइ बहुमत जुटेको थियो । प्रदेश १ को नाम कोशी राखेको भोलिपल्ट खुसीयाली मनाउन प्रदेशमा सार्वजनिक बिदा दिइएको थियो । तर प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति जातीय पहिचानको पक्षमा आवाज उठाउँदै आएका ठूलो संख्या र समूह भने असन्तुष्ट भए । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने र जातीय पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै विभिन्न समूहले सडक आन्दोलन चर्काए । नामकरणमा असन्तुष्ट पक्षले कोशी प्रदेश नाम खारेजीको माग गर्दै सरकारी कार्यालयहरूमा तालाबन्दी गर्ने, साइनबोर्ड
फेर्ने र प्रदेश सरकारका मन्त्री र प्रदेशसभा सदस्य लक्षित विरोधका आन्दोलन जारी राखे ।
जातीय पहिचानसहितको प्रदेशको नाम माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका विभिन्न समुदाय र सङ्गठनले कोशी नाम अस्वीकार गर्दै आएका छन् । किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर विगतमा थुप्रै सडक आन्दोलन चलाएका ती संगठनले प्रदेशको नामकरणले आफूहरूको अस्तित्व मेटाउने षडयन्त्र भएको ठानेका छन् । तर, नेपालको राजनीति भने अचम्मलाग्दो छ । जुन दलहरुले कोशी नाम राख्न सहीछाप लगाए, अहिले तिनै दलका नेता भने उक्त नामकरण ठीक नभएको अभिव्यक्ति दिँदै आएका छन् । कोशी नाम राख्न सहमति दिएको कांग्रेसका महामन्त्री गगन थापाले अहिले आएर सामाजिक द्वन्द्व हटाउन पहिचानको पक्षमा वकालत गर्नु सरासर जनतालाई झुक्याउने खेल मात्र हो भन्ने बुझ्न सकिन्छ । त्यतिबेला कोशी नाममा समर्थन जनाएको माओवादीले पनि आन्दोलनमा सहभागिता जनाएको थियो । एकातर्फ नाम राख्न सहयोग गर्ने र अकोतर्फ आन्दोलन गर्ने राजनीतिक दल र तिनका नेताको दोहोरो चरित्र कोशी प्रदेशको नामकरणको विषयमा उदांगो भएको छ । यदि गगन साँच्चै प्रदेशको नामकरणको विषयमा चिन्तित रहेको भए उनले पार्टीलाई कोशी नाममा सहमति नदिन दबाब दिन सक्थे । पहिचानको आधारमा नाम राख्नका लागि पार्टीको निर्णय गराउन प्रयास गर्थे ।
यसअघि एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका महासचिव गगन थापाले मुलुकको आर्थिक अवस्थाबारे चर्चा गर्दै पछिल्लो समय बढेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण उद्योगी व्यवसायी मारमा परेको र यो अवस्था आफ्नो राजनीतिक जीवनमा पहिलोपटक देखेको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले अर्थतन्त्र र व्यवसायीको समस्यालाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने जनाएका थिए । देशको प्रमुख पार्टी, जो सत्ताको साझेदार पनि छ, त्यस पार्टीका महासचिव र अपेक्षा गरिएका नेता हुन् थापा । तर, उनको भाषण भने पुँजीपति वर्गलाई मात्र पक्षपोषण र वास्तविक समस्यालाई भने अनदेखा गर्ने किसिमको थियो ।
किनभने कुनै पनि देशको अर्थतन्त्रमा समस्या छ भने त्यसको सबैभन्दा पहिलो मार खेप्ने विपन्न तथा श्रमिक वर्ग नै हो । जो हरेक दिन कमाइ गरेर साँझबिहानको छाक टार्छन्, उनीहरुलाई अर्थतन्त्रमा समस्या आउने बित्तिकै समस्या पर्न थाल्छ । गत कोभिडकालमा विपन्न नागरिकले भोग्नुपरेको अवस्थालाई सायद कमैले मात्र भुलेका होलान् । त्यसपछि मारमा भनेका किसान तथा मध्यम वर्ग हो । अन्त्यतिर मात्र पुँजीपति वर्गले मात्र यस्तो समस्याले छुन्छ । नेपालको अर्थतन्त्रमा केही समययता देखिएको समस्याले पनि श्रमिक, विपन्न र किसानले सबैभन्दा मार व्यहोर्नु परेको छ । तर, थापाले भने यस्तो वर्गको आवाजलाइ उठान गर्नुको साटो पुँजीपति वर्गको पक्षपोषण गरेका थिए ।
गगन थापाज्यू, यसरी विवादास्पद
अभिव्यक्ति दिन छोडेर जनताको हितमा राजनीतिक गर्ने हो कि ?