काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदवहाली गरेका छन्। सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताए।
३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए। आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फर्स्यौटमा ध्यान दिने बताए।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।