काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने जनाएका छन्। मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन्। ‘हामीले पुस ५ गते संसद् विघटन गर्यौं। हामीले ठीक ठानेर गर्यौं। ठीक भनेर गर्यौं। ठीक थियो र गर्यौं।
नगरी नहुने थियो र गर्यौं। विलकुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’
षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको जनाए । उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले जनाए। प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो।
‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए। ती कुसुलेहरूलाई पनि बडा धक्का पर्यो,’ उनले भने।