काठमाडौं – पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानिय क्लबसँग हार ब्योहोरेको छ। कोलम्बोको पुरानो क्रिकेट क्लबका रुपमा रहेको ब्लूमफिल्ड क्रिकेट क्लबसँग नेपाल ६ विकेटले पराजित भएको हो।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ९८ रनको सामान्य लक्ष्य ब्लूमफिल्डले ४ विकेटको क्षतिमा २४।३ ओभरमानै पुरा गरेको थियो। ब्लूमफिल्डका लागि बोयागोदाले ९० रन बनाउँदा अशन फर्नान्डो ५६ रनमा अविजित रहे। नेपालका लागि प्रतिश जिसी र सूर्य तामाङले समान २–२ विकेट लिएका थिए।
त्यसअघि ब्लूमफिल्ड क्रिकेट क्लब मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा अलआउट हुँदै १ सय ९७ रनको स्कोर तयार गरेको थियो। नेपालका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ७९ रन बनाएका थिए। उनले ११३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै टिमको लज्जास्पद स्कोरलाई उकासे। ओपनर देव खनाल २२ रनमा आउट हुँदा पछिल्लो क्रम भने चल्न सकेन।
नेपालका लागि थप दोहोरो स्कोरका रुपमा सन्दीप जोराले ३१ रन बनाएँदा पवन सर्राफले १० रन तथा सोमपाल कामी ११ रन बनाए। त्यस्तै प्रतिश जिसी १६ रन बनाउँदा करण केसी ११ रनमा आउट भए। बलिङमा ब्लूमफिल्डका वानिनायके र सामरावीराले २–२ विकेट लिएका थिए।
श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण रहेको नेपालले अब थप तीन अभ्यास खेल खेल्नेछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तानको सामना गर्नेछ।
पहिलो खेलमा नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्दा दोस्रो खेल भने १८ भदौमा श्रीलंकाको क्यान्डिमा खेल्नेछ। तीन–तीन टिमको समूहबाट शीर्ष दुई –दुई टिमले अन्तिम चारमा स्थान बनाउनेछन्। सुपर चारबाट शीर्ष दुई टोलि उपाधिका लागि भिड्नेछन्।