काठमाडौँ / माओवादी केन्द्रकी नेता पम्फा भुसालको नेतृत्वमा आइतबार गएको ५ सदस्यीय टोली र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।
यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि साथमै थिए । माओवादीको टोलीमा केन्द्रीय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी तथा नेताहरु सुरेशकुमार राई र रामेश्वरराय यादव सहभागी छन् ।
सत्तारुढ दल भाजपाले अघि ल्याएको ‘भाजपालाई बुझ्ने’ कार्यक्रम अन्तर्गत उनीहरू भारत भ्रमणमा गएका हुन् । पहिलो दिन नेपाली टोलीलाई भाजपाको मुख्यालयमा भ्रमण गराई विभिन्न मोर्चाका प्रतिनिधिहरु र नेताहरुसँग अन्तरक्रिया कार्यक्रममा सामेल गरिएको थियो । उक्त टोली साउन १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।