काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरूलाई ‘भगाएका’ छन् ।बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ ३ गते र असार १३ गते अनुसन्धान एवम् कारबाही गर्न पठाएको पत्र बमोजिम पक्राउ गरी कारबाही प्रकृया अघि बढाउनुपर्नेमा डीएसपी महराले अध्यक्ष दलबहादुर आले र कार्यालय व्यवस्थापक कविता गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडिदिएकाे थियाे । महराले सहकारी अध्यक्ष आले र कर्मचारी गुरुङलाई मात्र हिरासतमा राखेर अन्य सबै सञ्चालकलाई सामान्य तारेखमा छाडेको प्रहरी स्रोतबाट खबर प्राप्त भएकाे छ । साे विषयमा सिआइबीका प्रवक्ता सञ्जय थापासँग प्रतिक्रिया माग्दा उनले भने, ‘उक्त सहकारीका सञ्चालकहरूमाथि अनुसन्धान शुरु भइसकेको छ ।
अब कसलाई पक्राउ गर्ने/कसलाई नगर्ने भन्ने विषय अनुसन्धानको प्रक्रियालाई हेरेर हुन्छ ।’ यता डिएसपी महरासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सहकारीका अध्यक्ष आलेलाई भने चेक बाउन्स उजुरीका आधारमा गत बिहीबार नै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो ।
सहकारीका बचतकर्ताको केही सय रुपैयाँ समेत फिर्ता गर्न नमानेका आलेले ती उजुरीकर्ताको रकम भने तत्कालै बुझाएका थिए । प्रकृया पुर्याएर प्रहरीले आलेलाई छाडिदिएको थियो । तर, प्रहरी वृत्तले छाड्नासाथ निजलाई सीआइबीको टोलीले पक्राउ गरेको थियो । बचतकर्ताको उजुरीका आधारमा प्रदेश सहकारी मन्त्रालयले पठाइएको पत्रअनुसार आलेलाई सीआइबीको टोलीले पक्राउ गरेको हो । आलेसँगै सबै सञ्चालकलाई नियन्त्रणमा लिएपनि डिएसपी महराले सामान्य सोधपुछमात्रै गरेर आले र गुरुङ बाहेक सबैलाई सामान्य तारेखमा छाडिदिएका हुन् । प्रहरी स्रोतका अनुसार डिएसपी महराले ‘तपाईंहरू घर जानुहोस्, यता म मिलाउँछु’ भनेर अन्य सबै सञ्चालकहरूलाई घर जान भनेका थिए ।