काठमाडौँ / नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ‘जिफन्ट डिजिटल्ली’ कार्यक्रम प्रारम्भ गरेको छ । जिफन्टको ३४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा विश्वभर रहेका मजदुरसँग प्रत्यक्ष संवादका लागि जिफन्टले ‘एक्सन रुम’ सञ्चालमा ल्याएको हो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सूचना र प्रविधिको अभूतपूर्व विकासले विदेशमा छरिएर अनेक खालका श्रम गरिरहेका श्रमिकहरुलाई गोलबन्द गर्ने जिफन्टको लक्ष्य पूरा गर्न ‘जिफन्ट डिजिटल्ली’ कार्यक्रम ल्याएको बताए ।
त्यसैगरी जिफन्टले ‘जिफन्ट एप्स’ प्रयोगमा ल्याउने घोषणा गरेको छ । ‘जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ भन्ने नारालाई प्रभावकारी ढंगले साकार बनाउन वेभसाइट, अत्याधुनिक कल सेन्टर तत्काल सञ्चालनमा ल्याउने जानकारी उनले दिए ।
राष्ट्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारीहरू उपस्थितिमा जिफन्ट एक्सन रूममा आयोजित ३४ औं स्थापना दिवसमा जिफन्टका जिल्ला, प्रदेश, प्रवासमा रहेका मजदुर नेता, कार्यकर्ताहरू भर्च्युअली सहभागी भएका थिए । दिवसको अवसरमा सातै प्रदेशमा वृक्षारोपण, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गरिएका थिए ।
जिफन्टले ‘एक्सन रूम’ बाटै यही साउन १२ गते शुक्रबार कतारमा जीएसजीमा संगठित श्रमिकहरुलाई लक्षित गरी पहिलो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ । जिफन्ट २०४६ साउन ५ गते भूमिगतरूपमा स्थापना भएको मजदुर संगठन हो ।