मोरङ – राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध बाहिरबाट गुटको राजनीति भइरहेको पार्टी महामन्त्री डा.मुकुल ढकालले बताएका छन्।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टी प्रवक्तासमेत रहेका महामन्त्री ढकालले विभिन्न पक्षबाट रास्वपाविरुद्ध आक्रमण हुँदै आएको बताएका हुन्।
पत्रकार सम्मेलनमा रास्वपाका नेता स्वर्णिम वाग्लेको बचाउ गर्दै ढकालले सेना कटौतीको विषयमा कुनै कुरा नगरिएको दाबी गरे।
उनले भने, ‘स्वर्णिम वाग्लेले सेना घटाउने कुरा भनेर बोल्नु भएको छैन। उहाँले भन्नु नै भएको छैन। यहाँ रास्वपाविरुद्ध नियोजित आक्रमण भइरहेको छ। झुटा समाचार आउने क्रममा सो विषय आएको हो। सेनाको विषयमा उहाँले केही भन्नु भएको छैन। यो नियोजित रुपमा कुप्रचार हो।’
पत्रकार सम्मेलनका क्रममा ढकालले मिटरब्याजसम्बन्धी कानुन रास्वपाकै जोडबलमा संसद्बाट पारित भएको बताए।
ढकालले भने, ‘अन्य दलहरुले नमाने पनि हाम्रो पार्टीले संसद्मा मिटरब्याज विधेयक पेश गर्न आग्रह गरेको थियो। सो विधेयक सदनमा पेश नभए सदन नै अवरुद्ध गर्ने चेतावनी दिएका थियौँ। सोही क्रममा हाम्रै जोडबलमा विधेयक सदनमा पेश भयो र प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित पनि भयो।’
यस्तै उनले मोरङ क्षेत्र नम्बर ४ बाट आफूले राजनीति गर्ने बताए। उनले भने, ‘म यही क्षेत्रमा जन्मे हुर्केँ। अबको मेरो राजनीति मोरङ क्षेत्र नम्बर ४ बाट अघि बढ्ने छ।’