काठमाडौं । व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्।
१०० किलो सुन प्रकरणमा नाम मुछिएपछि आज पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्ट पारे।
‘सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन। म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ। काम विशेषले कहिलेकाही विदेश जानेगर्छु,’ उनले भने,’दोषी ठहरिए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु।’
उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छजनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको करिब १०० किलो सुन बरामद भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास गरेको सो परिमाणको सुन बरामद भएको हो।
जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ।