काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने बहस अनाआवश्यक भएको दाबी गरेका छन्।
बिहीबार राष्ट्रियसभाको विशेष समयमा धारणा राख्दै गौतमले गौरवपूर्ण इतिहास भएको सेनाको संख्या कटौती गर्न नहुने उल्लेख गरे।
पछिल्ला दिनमा प्रशासनिक खर्च घटाउनका लागि सेनाको संख्या कम गर्नुपर्ने कुरा उठिरहेका बेला गौतमले त्यसप्रति फरक मत राखेका हुन्। उनले भने, ‘नेपाली सेनालाई अवहेलना गर्नु हुँदैन। सेनाको संख्या घटाउने कुरा गरे पाप लाग्छ।’
उनले सेनाले जनताको आदेशलाइ सधैँ मानेको उल्लेख गर्दै संख्या बढाएर दुई लाख पुर्याए देशको उत्पादन बढाउन सकिने बताए। ‘सेनाको इतिहास छ। जनताको आदेश मानेको छ। सेनाको संख्या दुई लाख पर्याए देशको उत्पादन बढाएर विदेश निर्यात गर्न सकिन्छ।’
उनले खर्च कटौतीका लागि प्रदेश संरचना हटाउन सकिने, प्रतिनिधिसभाको संख्या कटौती गर्न सकिने र बेलायतको हाउस अफ लर्डबाट नक्कल गरेको राष्ट्रियसभाको हटाउन सकिने जिकिर गरे।
गौतमले नेपालमा प्रतिनिधिसभाले प्रधानमन्त्री चुनिने व्यवस्था रहुन्जेल देशको विकास नहुने उल्लेख गरे।
बैठकमा गौतमले भने, ‘पैसा बचाउन अरु धेरै उपाय छन्। प्रदेशको काम के छ? २७५ जनाको प्रतिनिधिसभा चाहिँदैन। १५१ मात्रै बनाए पनि पुग्छ। राष्ट्रियसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ? बेलायतको नक्कल गरेर, राजाको टाउको काटेर। हिँडेपछि। हाउस अफ लर्ड बनाउने निर्णय गरे। लर्ड भने राजा मात्रै होइन, जमिन्दार पनि हो। संसद रहँदासम्म नेपालले विकास गर्न सक्दैन। प्रतिनिधिसभाले प्रधानमन्त्री चुनिन्जेल देशको विकास हुँदैन।’
फरक प्रसंगमा गौतमले कांग्रेसले बैठकको प्रत्यक्ष लाइभ गरेर राम्रो काम गरेको मूल्यांकन गरे। कम्युनिष्टहरुलाई पनि बैठकको लाइभ गर्न आग्रह गर्दै भने, ‘कांग्रेसले बैठक लाइभ गरेर ठीक गरेको छ। अब गोप्य मिटिङ गरेर भ्रष्टाचार बाहेक लुकाउन केही छैन। कांग्रेसले राम्रो काम गरेको छ। कम्युनिष्टहरु पनि त्यहीँ बाटोमा हिड्नुपर्छ।’