काठमाडौँ / थाइल्यान्ड लैजाने भनी झुक्याएर जबर्जस्ती म्यानमार पुर्याएर बन्धक बनाउँदै अनलाइन स्क्यामिङ गराएको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको ग्यानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरुपमा बसोबास गरिरहेका ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई छन् ।
दक्षिण पूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
लियाङले पीडितलाई थाइल्यान्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेको र उक्त रकम बुझाएपछि मात्र फिर्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
लियाङले पीडितलाई चिनियाँ भाषाको दोभाषे साथीमार्फत चिनजान भई ४/५ महिनासँगै काम गरिसकेपछि थाइल्यान्डमा टाइपिङसम्बन्धी रोजगारीमा लैजाने प्रस्ताव गरेका थिए । लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिजनेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको पाइएको छ । उनीलगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्यान्ड लैजाने भनी नेपाली नागरिकहरुलाई म्यानमार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्यान्ड भनी म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी पंगेनीले बताए ।
घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका चिनियाँ विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालेको ब्यूरोले जनाएको छ ।