काठमाडौँ / लगानी बोर्ड, नेपालले नेपालमा रासायानिक मल कारखाना स्थापनाका अध्ययनका लागि जर्मन कम्पनीसँग सम्झौता गरेको छ । जर्मनी कम्पनी डाएग इन्डस्ट्रिज जीएमबीएच, जर्मनीसँग नेपालमा रासायानिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाएग कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकेरले हस्ताक्षर गरे ।
समझदारीअनुसार कम्पनीले २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ । नेचुरल ग्यास, इलेक्ट्रोसिस वा हाइब्रिड प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन लागि ७१ करोड ४० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको समेत बोर्डले बताएको छ । विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेस गर्न भट्टले प्रस्तावकलाई आग्रह गरे ।