काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमले साफ च्याम्पियनसिपको फाइनल पछि पहिलो पटक बंगलादेशसँग बिहीबार मैत्रिपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ।बंगलादेशसँगको खेलका लागि नेपाली टोली मंगलबारनै ढाका पुगेको छ। टोली अन्तिम अभ्यासमा ब्यस्त छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भोली साँझ ५:४५ मा सुरु हुने खेलमा नेपाल आफ्नो दक्षिण एसियामा भारतपछिको बलियो छविलाई कायम राख्न चाहन्छ।
गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाली टोली जित्नका लागि मैदान उत्रिने नेपाली टिमका प्रशिक्षक अनन्त थापाले बताए। खेल अघि आयोजित प्रि-म्याच कन्फ्रेन्समा थापाले भने ‘हामी साफ च्याम्पियनसिप भन्दा अहिले कम्प्याक्ट रुपमा रहेका छौं। हामीले विपक्षी भन्दा आफ्नो प्यार्टनलाई बलियो बनाएर खेल्यौं भने जित निकाल्न सक्छौं।’ उनले नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारीको पुनरागमनले टिम थप लयमा रहेको बताएश्र गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पुरै समय मैदानमा बिताउन पाएकी थिइनन्।
यस्तै, चोटपछि नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन्। गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिईन्। यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन्।
कप्तान एन्जिलालले टिम मानसिक रुपमा समेत बलियो भएकाले बंगलादेशसँग जितका लागि खेल्ने बताइन्। उनले भनिन् ‘टिमको तयारी राम्रो छ। पहिला भएका विवादहरु विर्सिएर हामी अगाडि बढेका छौं। सावित्राको आगमनले टिममा उच्च मनोबल भएको छ। हामि जित्नकै लागि खेल्ने छौं।’
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन्। साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। साफ जित्ने टोलीबाट बंगालदेशको टोलीमा मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए। यस्तै, साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन्।
बंगालदेशका मुख्य प्रशिक्षक बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले भने, ‘साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो टोली हो। यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ। त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौं। हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौं। अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ।’
टोलीकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफूहरुको टोलीमा धेरै फरक रहेको सुनाईन्। उनले भनिन् ‘साफ पछि हामीले ८ महिना खेल्न पाएका छैनौं। नेपालले खेलिरहेको छ। हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ।’