काठमाडौं – पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ। परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए।
उनीहरूलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भन्दै रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए। त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर/त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवामार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ। उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।