काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर फर्किएपछि बसेका प्रतिनिधिसभाका दुई वटा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अगुवाइमा अवरुद्ध गरियो। आइतबार नेकपा एमालेको नेतृत्वमा प्रतिपक्षी दलहरुले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र दिएका अभिव्यक्तिहरुको विरोध गर्दै संसद् अवरुद्ध भयो। त्यसैगरी आज सोमबार पनि नेकपा एमालेसहितका दलहरुले संसद् अवरुद्धको पटक(पटक प्रयास गरे।
एमालेको विरोधका कारण संसद् बैठक चलाउन नसक्ने स्थिति सिर्जना भएपछि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनमा सहयोग गर्न पटक(पटक आग्रह गरे। तर पनि एमालेले लगातार संसद्मा नाराबाजी गरिरह्यो।
यसबाट दिक्क भएर सभामुख घिमिरेले भने, ुसार्वजनिक महत्वको विषयमार्फत आएका विषयमा प्रधानमन्त्रीज्यूले आफ्नो वक्तव्यमार्फत राख्दै हुनुहुन्छ। उत्तेजनामा आएर आफ्ना तर्क र वितर्क गरी यहीँ जुधाएर यहीँ सक्किने कुरा मात्रै हुन्छ। त्यसकारण नियमापत्तिका विषयमा समय लिएर बोलौं। स्पष्टिकरणमा उठेका प्रश्नमा जवाफ दिँदै हुनुहुन्छ। जवाफ सुनौं माननीयज्यूहरु।ु
नेकपा एमालेबाट सभामुख चुनिएका घिमिरेलाई बैठक सञ्चालन गर्न नै नेकपा एमालेले सकसपूर्ण स्थिति सिर्जना गरिदिएको छ। एमालेले विषयवस्तुभन्दा पनि संसद्लाई अवरोध गर्ने र यसलाई असफल बनाउने अनौपचारिक रणनीति रहेको देखिन्छ। विगतको अभ्यासलाई हेर्ने हो भने नेकपा एमालेले बिना तर्कसंगत संसद् अवरोध गर्ने र त्यसको पुष्टि नै नगरी अवरोध खुला गर्ने गरेको छ।
नेपालमा संसदीय अभ्यास सुरु भएको सात दशक भए पनि यसले अझै संस्थागत रूप लिन सकेको छैन। बहुदलीय जनवाद र संसदीय लोकतन्त्रलाई आफ्नो वैचारिक सिद्धान्त मानेको एमालेले लोकतन्त्रको आत्मा मानिने संसद्माथि पटक(पटक गलत मनसाय राखी प्रहार गर्ने काम गरिरहेको छ। दलहरुका राजनीतिक स्वार्थ, उतारचढाव, प्रयोग र अस्थिरताका कारण संसद् संगठित र प्रभावकारी हुन सकेको छैन भने नागरिक अनुगमनले पनि संस्थागत स्वरूप पाएको छैन।