काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जना वकिलले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने जानकारी दिए । उनका अनुसार आइतवार सरकारी वकिल महेशप्रसाद खत्रीले बहसको शुआआत गरेका छन् ।
खत्रीसँगै जनकप्रसाद घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी, हिरालाल घोलन, दीपा खरालले सरकारको तर्फबाट बहस गर्ने नेउपानेले बताए ।
‘हामीलाई तीन दिनको समय दिइएको छ । त्यसमा भ्याउन अलि कठिन नै हुन्छ,’ नेउपानेले लोकान्तरसँग भने, ‘हामीले आफैं मुद्दा चलेको हुनाले मुद्दा अभियोजन गर्ने बेलादेखि नै बहसको तयारी गरेका थियौं । हाम्रो तर्फबाट बहस कमजोर हुने कुरा हुँदैन, राम्रो तयारी गरेर अदालतमा उपस्थित भएका छौं ।’
मुद्दाको अनुसन्धान शुरू गरिएको बेला देखिकै अधिकांश सरकारी वकिलले बहस गरिरहेका छन् । उक्त टोलीमा १/२ जना मात्र नयाँ सरकारी वकिल समावेश भएका छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीहरूको बयान सम्पन्न भएपछि आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको हो । थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा अदालतको आदेश आउनेछ ।