मोरङ – आउँदो बजेटमा औद्योगिक प्रदर्शनीस्थलका लागि निश्चित रकम विनियोजन गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन्।
उद्योग संगठन मोरङमा आयोजित नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार उद्योगी व्यवसायीका माग सम्बोधन गर्दै प्रदर्शनीस्थल निर्माणका लागि सकारात्मक रहेको बताएका हुन्।
प्रर्दशनीस्थलको लागि विराटनगरभित्र पनि जग्गा भएको बताएका मुख्यमन्त्री कार्कीले भने, ‘विराटनगरमा पनि जग्गा उपलब्ध भएको बुझेको छु। तर विवाद रहेछ। सो विवादलाई टुङ्गाएर आउनुस, प्रदेश सरकार यसै बजेटमा केही निश्चित रकम विनियोजन गरी अघि बढाउन सक्छ।’
प्रदर्शनीस्थलका लागि प्रदेश सरकारले जग्गा दिन नसक्ने बताएका मुख्यमन्त्री कार्कीले भने, ‘हामी जग्गा भने दिन सक्दैनौँ। तर हाल भएको जग्गाको विवाद समाधान गरी आउनुस्, प्रदेश सरकार सहयोग गर्न तयार छ। तर जग्गा विवाद टुंगिएको छैन कि भन्ने बुझेको छु। उद्योगीभित्रै पनि दुई–तीन वटा पक्षले धारणा राखेको पाएको छु।’
कार्यक्रममा सुनसरीको अमडुवामा रहेको जग्गामा औद्योगिक ग्राम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए। मुख्यमन्त्री कार्कीले बजेट संकुचनका कारण धेरै काम गर्न नसक्ने बताएका उनले रोजगारीको क्षेत्र, उद्योगलाई व्यवस्थित गर्ने, कृषि उत्पादन, घरेलु उत्पादन, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्ने बताए।
कार्यक्रममा प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले उद्यम र उद्योगलाई संरक्षण गर्न सरकार कटिबद्ध रहेको बताए। अहिलेको अवस्थामा उद्योग क्षेत्र विविध कारण थलिएको बताएका मन्त्री सिटौलाले भने, ‘उद्योग क्षेत्रलाई उकास्न नसक्दा हाम्रो सपना सपनामै सीमित रहनेछ। यहाँका उद्यामीलाई संरक्षण गर्दै नयाँ व्यक्ति भित्र्याउनु सक्नुपर्छ। अहिलेको वातावरणमा उद्योगलाई कसरी स्वस्थ्यकर उद्योग मैत्री बनाउन सोच्नुपर्ने अवस्था छ।’
पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राकेश सुरानाले आउँदो २ वर्षे कार्यकालमा गरिने कामबारे बताएका थिए। अध्यक्ष सुरानाले नयाँ कार्यसमितिले उर्जा व्यवस्थापन, वित्तीय व्यवस्थापनमा सहजीकरण, औद्योगिक पूर्वाधार विकास, प्रक्रियागत सरलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने जनाए। सुराना उद्योग संगठन मोरङका १६ औं अध्यक्ष बनेका हुन्।
उनीसँगै वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष वित्तियतर्फ राजकुमार गोल्छा, उपाध्यक्ष कृषि उर्जा र जलस्रोततर्फ भोलेश्वर दुलाल, उपाध्यक्ष रोजगारतर्फ विपिन काबरा र कोषाध्यक्षमा सुवोध कोइराला निर्विरोध चयन भएका हुन्।


