काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताए। उनले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गरे।
उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्। देशमा आउँदै गरेको अराजकताका। यो देशका जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो।’


