काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कथानक चलचित्र ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने जनाए।
‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुपर्यो,’ रावलले भने, ‘यदि सरकारले फिल्म रोके जनतामाझ लगेर प्रदर्शन गर्छौं ।’ फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको भन्दै उनले यसको हनन कसैले गर्न नसक्ने बताए ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘काँडेतार’ निर्वाध चल्न पाउनुपर्ने बताए । ‘सबै बसेर हेरौं कहाँ के आपत्ति छ, यदि आपत्ति छ भने सेन्सर बोर्डलाई सघाउँला तर यसलाई रोक्नुहुँदैन,’ उनले भने । प्राध्यापक सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु राम्रो कुरा नभएको जनाए ।