काठमाडौ । नेकपा विभाजनको साढे २ वर्षपछि कम्युनिस्ट दलहरु फेरि एकता अभियानमा लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा बनाउने तयारी गरेका हुन्, जसको गन्तव्य भने नेकपा हुने उनीहरुले जनाएका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको लामो इतिहासमा दल टुटफुटको घटना धेरै भए पनि २०७५ जेठमा तत्कालीन ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणले ठूलो हलचल र अवसर सृजना गरेको थियो । ठूला कम्युनिस्ट पार्टीको एकता र चुनावमा बहुमत प्राप्तिपछि लामो समयसम्म अब नेकपाले देशको शासनसत्ताको बागडोर सम्हाल्ने अपेक्षा गरिएको थियो । तर, त्यो एकता ३ वर्षमा नै टुटेपछि कम्युनिस्ट आन्दोलन र सपना पनि धूलिसात् भयो । तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको मनमुटावका कारण उक्त पार्टी विभाजन मात्र भएन, त्यसपछि एमालेमा पनि विभाजन आयो । नेता नेपालको नेतृत्वमा नेकपा एस स्थापना भयो ।
नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र पहिलेकै अवस्थामा पुगे, नेपालले नयाँ पार्टी गठन गर्दा एमाले नेता वामदेव गौतम भने कतैतर्फ पनि लागेनन् । बरु उनले यस्तो प्रवृत्तिको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरे । त्यतिबेला गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्धलाई लिएर उत्पन्न अन्तरविरोध समाधान गर्न नसक्दा पार्टी विभाजन उन्मुख भएको भन्दै यो शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भएको जनाएका थिए । कम्युनिस्ट पार्टी एकताको आवश्यकतालाई जोड दिँदै नेता गौतमले गत वर्षको असार १४ मा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी नै स्थापना गरेका थिए । जसको उद्देश्य एमाले, माओवादी केन्द्र, नेकपा एसलगायत कम्युनिस्ट पार्टी एकीकरण गर्नु थियो । तत्काल एकीकरण सम्भव नभए प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कार्यगत एकता वातावरण बनाउने प्रयास उनले गरेका थिए ।
नेता गौतमकै बाटोमा ढिलै भए पनि अहिले प्रधानमन्त्री प्रचण्ड र नेपाल लगायत नेता देखिएका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दलले निर्वाचन तथा उपनिर्वाचनमा पाएको सफलता, तत्कालीन माओवादी द्वन्द्वबाट पीडित भएकाहरुले माओवादी नेताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर तथा सडक प्रदर्शन गर्नुलगायत कारणले पनि कम्युनिस्ट पार्टीहरुबीच एकताको वातावरण बन्दै गएको छ । अहिले संसदमा कुनै पनि दलको बहुमत छैन । सरकार गठनमा पनि थुप्रै दलहरुबीच सहकार्य भएको छ । केही साना दलले मात्रै समर्थन फिर्ता लिए सरकार नै ढल्ने सम्भावना पनि छ । त्यसकारण पनि संसदमा रहेका र बाहिरका कम्युनिस्ट पार्टीहरुबीच अहिले एकताको औचित्य देखिएको हो ।
यसबीचमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा गत आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने जनाएका छन् । विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उनले उल्लेख गरे । त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ । उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताए । देशमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे । उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट मात्र भएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।
सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पनि नेकपालाई पुनर्जीवित गर्दा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने जनाए । उनले नेताहरूको सनकका भरमा त्यो एकता टिक्न नसकेको टिप्पणी गरे । अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने उनको भनाइ छ । नेकपालाई पुनःस्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्नेमा उनले जोड दिए । अहिले मुलुकमा अराजकता सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसलाई रोक्न कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।
समाजवादी मोर्चा गठनको छलफल अघि बढे पनि तत्काल नेकपा एमालेलाई भने सहभागी नगराइने भएको छ । कम्युनिस्ट वामपन्थी शक्तिबीच मोर्चा र एकता गर्न गत पुस २३ मा पनि माओवादी प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोली सक्रिय भएको थियो । टोलीमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा सहभागी थिए । यस्तै जनता समाजवादी पार्टीबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विजय पौडेल समाजवादी मोर्चा निर्माणमा सक्रिय भई लागेका छन् । एकीकृत समाजवादीबाट घनश्याम भुसाल र विजय पौडेल सक्रिय रहेको र १०÷१५ दिनमै मोर्चा गठनको घोषणा गरिने तयारी रहेको माओवादी स्रोतको भनाइ छ । जनधारणा साप्ताहिक