काठमाडौं । वकिल हुँ भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक नक्कली वकिललाई ठगी मुद्दामा पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने ४९ वर्षीय मानबहादुर सिंह छन्।
उनले आफूलाई भरतबिक्रम, भक्तबहादुर र भरतबहादुर सिंह भनेर चिनाउने गरेका छन्।
अर्कै व्यक्तिको लाइसेन्स नम्बर समेत दुरूपयोग गरी बैंकिङ कसूर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाउने, मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोप उनीमाथि छ।
पटकपटक गरी उनले ३१ लाख रकम ठगी गरेको खुलेको एसपी रिजालले बताए।
उनीबाट विभिन्न चेक, कागजातहरू बरामद भएका छन्।
घटनामाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उनले अन्य व्यक्तिहरूलाई पनि ठगेको हुनुपर्ने प्रहरीको आशंका छ। उनीबाट कोही पीडित भए प्रहरीको सम्पर्कमा आउन परिसरले अनुरोध गरेको छ।