नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए अहिलेसम्म कोशीदेखि कलकत्तासम्म पानी जहाज चलिसक्ने बताएका छन्।
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा मेटिसकेको हुलाकी राजमार्गलाई फोरलेन बनाएको, भुकम्पमा भत्किएका घरहरुलाई ठड्याएको, हुरीले उडाएको खरको छाना भएको घरमालिकलाई पक्की घर बनाएर दिएको, तुइन विस्थापित गरेको, मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएको बताउदै पानी जहाज पनि चलिसक्थ्यो भने।
एमाले अध्यक्ष ओलीले निकम्बा सरकार बनाएर कुकर्म गर्न गठबन्धन गरिएको बताए। उनले भने, ‘राजनीतिक विचार छैन। जोसुकै भएपनि, जसरी भएपनि निकम्बा सरकार बनाएर कुकर्म गर्न गठबन्धन गरिएको छ। यसले देशको विकास गर्दैन।’
युवा संघभित्र गुटबन्दी र गोजीबाट लिष्ट बाँड्ने काम हुनु हुँदैन भनेका ओलीले युवा जस्तो गतिशील संस्थाले जात, धर्म र साम्प्रदायिकताको कुरा गर्न नहुने बताए। उनले युवा संघ भन्ने अनि अंकल, अण्टी र कतिपय हजुरबुवा भएकासम्म बस्ने गरिएकोले यसपाली त्यसलाई तोड्न निर्देशन दिदै युवा संघमा नअटेकालाई पार्टीले जिम्मेवारी दिने बताए।
एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, जनवर्गीय संगठनका संयोजक भानुभक्त ढकाल, युवा फाँटका संयोजक महेश बस्नेत, बाँकेबाट निर्वाचित सांसद सूर्य ढकाललगायतले वर्तमान सरकारले नागरिकको मुद्दा नउठाएको र यसले अर्थतन्त्रलाई सुधार्न नसक्ने बताए।
एक लाख रुपैया राशीको केपी ओली युवा प्रतिभा पुरस्कार राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेललाई दिइएको थियो।
महाधिवेशन स्थलमै पुगेर माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य दलबहादुर सुनार एमालेमा प्रवेश गरेका छन्। एमालेबाट पूर्वराज्यमन्त्री भएका सुनार एमालेबाट माधवकुमार नेपालको टीम छुटिन एकीकृत समाजवादीमा प्रवेश गरेका थिए भने गएको चुनावको मुखमा माओवादीमा प्रवेश गरेका थिए। युवा संघको २९ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।