काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। नेपाली फुटबलका चिरपरिचित प्रतिद्वन्दी मनाङ र थ्री स्टारबिच दशरथ रङ्गशालामा सोमबार साँझ भएको भिडन्त रोमाञ्चक बराबरीमा अन्त भएको थियो।
बराबरी सँगै मनाङले आफ्नो अपराजित यात्रालाई ७ औ चरण सम्म कायम राख्न सफल भयो। जारी सिजन मनाङ र चर्च ब्वाइज युनाइटेड अपराजित रहेका छन्।
अधिकासं समय गोलरहित बराबरी उन्मुख खेलमा थ्री-स्टारले लिजेन्ड स्टार सन्तोष साउखलको गोलबाट खेलमा अग्रता बनाएको थियो। जारी सिजन थ्री स्टारबाट ए डिभिजन लिगमा पहिलो खेल खेलेका साउखलले पहिलो खेलमानै गोल गरेका हुन्। उनी २०१५ पछि थ्री स्टार क्लबमा केहि दिन अगाडि अनुबन्धित भएका थिए। अघिल्लो सिजन उनले च्यासल युथ क्लबबाट लिगमा प्रतिस्पर्धा गरेका थिए।
साउखल सहिद स्मारक ए डिभिजन लिगमा १०० गोलको कीर्तिमान पुरा गरिसकेका लेजेन्ड स्टार समेत हुन्। उनी लिगका सर्वाधिक गोलकर्ता हुन्। साउखलले आफ्नो पूर्व क्लब मनाङ विरुद्ध ७८ औ मिनेटमा आकर्षक गोल गरेका थिए। रणदिप पौडेलको हेडमा पाएको बललाई सन्तोषले दोस्रो बारको टप कर्नर च्यापेर गरेको आकर्षक प्रहार गोलमा परिणत हुँदा थ्रीस्टारले अग्रता बनाएको थियो।
तर खेलमा थ्रीस्टारको अग्रता लामो समय टिक्न पाएन। ८४ औ मिनेटमा मनाङले बराबरी गोल फर्काउँदै सम्भावित हार टारेको थियो। उसका लागि कोफी कोउडुले बराबरी गोल फर्काएका थिए। भिषण लिम्बुको लामो पासलाई हेड गर्दै कोउडुले मनाङलाई १-१ गोलको अवस्थामा ल्याएका थिए। त्यसअघि पहिलो तथा दोस्रो हाफमा दुबै टिमले पाएका गोलका सुन्दर मौका चुकाएका थिए।
खेलपछि पनि मनाङ लिग अङ्क तालिकामा सातौं चरणको समाप्तीमा पनि शीर्ष स्थानमा कायम छ। मनाङको ७ खेलबाट ४ जित ३ बराबरी सहित १५ अङ्कका साथमा शीर्ष स्थानमा रहेको छ। थ्री स्टारको ७ खेलबाट ३ जित २ बराबरी र २ हार सहित ११ अङ्क रहेको छ। थ्री स्टार छैटौं स्थानमा रहेको छ।