पर्वत । कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँका युवालाई सक्षम बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘लाइसेन्स’ प्राप्त ‘गाइड’ उत्पादनको प्रयास गरेको छ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाका ११ वटा वडाका ४० जना युवाले ‘गाइड’ तालिम लिएका छन्। गत १३ चैतदेखि शुरु भएको तालिम आइतबार समापन भएको छ।
गाउँपालिकाभित्रकै आधार शिविरमा पर्यटकलाई ‘गाइड’को काम गर्दै आएकाहरू गाउँपालिकाभन्दा बाहिरका रहेकाले स्थानीय युवालाई नै यसमा आकर्षित गर्न तथा अवसर पाउनका लागि योग्य बनाउन गाउँमै तालिम दिइएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।
यहाँ गाइडका रूपमा आउने अधिकांश बाहिरका व्यक्ति हुनुहुन्छ। गाउँपालिकामा सल्लाह गरेपछि गाउँकै युवालाई सक्षम बनाउन तालिम दिएका हौँ’, उनले भने, ‘यो तालिमबाट सिकेका कुरा सदुपयोग गर्नुहुन्छ भन्ने विश्वास छ। यसलाई प्रयोगमा ल्याउँदै केही न केही युवाहरूले रोजगारीका अवसर प्राप्त गर्नुहुनेछ।’
सहभागीलाई पर्यटकसँग गर्ने व्यवहार, हिमपहिरो आउँदा बच्ने उपाय, पर्यटन बीमा, पर्यटन कानून, द्वन्द्व व्यवस्थापन, पदमार्गमा पाउन सकिने वनस्पति र जीव, ट्रेकिङ, पर्वतारोहण, यात्रामा निस्कनुअघिको तयारी, हिमाली समाज र संस्कृति, नेपालको भूगोल, नेतृत्वलगायत विषयमा तालिम दिइएको हो।
तालिम लिनका लागि ८० जनाभन्दा बढीले गाउँपालिकामा आवेदन दिएका थिए। तीमध्येका ४० जनालाई छनोट गरेर सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा बताउँछन्।
गाउँपालिकामा सञ्चालित नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत पर्यटनमैत्री–प्रविधिमैत्री नमुना अन्नपूर्ण गाउँपालिका परियोजनामार्फत तालिम गरिएको हो। ‘गाइड’को रूपमा काम गर्दै आएका कतिपय स्थानीय युवाहरू तालिमबिना नै पेशामा रहेका र उनीहरूमा सैद्धान्तिक ज्ञानको कमी हुन सक्ने भएकाले पनि तालिम महत्त्वपूर्ण रहेको तालिमका संयोजक सूर्य तिमिल्सनाले जानकारी दिए।
तालिम लिन र परीक्षा दिन काठमाडौँसम्म जानुपर्ने अवस्था हटेर गाउँमै पाएपछि युवाहरूमा उत्साह बढेको पनि उनको भनाइ छ।
आइतबार तालिम सम्पन्न भएपछि सोमबार पर्वतीय प्रशिक्षण प्रतिष्ठानले उनीहरूको परीक्षा पनि लिएको छ। यसमा उत्तीर्ण हुनेले ‘गाइड’ बन्नका लागि ‘लाइसेन्स’ पाउनेछन्।