काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको ११८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका द हवि अटो ट्रेडिङ्ग प्रालिका ११८ वटा सवारी सम्पत्ति बिक्री गर्ने भएको हो ।
पर्साको विरगंज उपमहानगरपालिका १५ स्थित रजिष्टर्ड कार्यालय रहेको ऋणी द हवि अटो ट्रेडिङ्ग प्रालिका सञ्चालक उमेश नारायण मानन्धर र जमानीकर्ताहरु हवि कुमारी मानन्धर, सफु मानन्धर र यचु मानन्धरको सम्पत्ति लिलाम गर्ने बैंकले जनाएको छ ।
बैंकले शाखा कार्यालय विरगंज र सिर्सिया, पर्साको धितोमा रहेको सम्पति लिलाम बिक्री गर्ने बताएको छ । सञ्चालक मानन्धरलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । रितपूर्वतक प्राप्त बोलपत्र बैशाख ११ गते खोलिने बैंकले जनाएको छ ।