पोखरा – कास्कीमा यो वर्ष लागुऔषधका ५८ मुद्दा दर्ता भएका छन्। साउनयता जिल्ला प्रहरी कार्यालय कास्कीले १०४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरी निरीक्षक तिलक मानन्धरले ९८ पुरुष र ६ महिला पक्राउ परेको जानकारी दिए। उनका अनुसार अधिकांशलाई लेखनाथको शिसुवा क्षेत्रबाट पक्राउ गरिएको हो।
सोमबार प्रेस क्लब गण्डकीले आयोजना गरेको लागुऔषध दुर्व्यसनविरुद्धको अन्तरक्रियामा प्रहरी निरीक्षक मानन्धरले लागुऔषध सेवनकर्ता र कारोबारीलाई नियन्त्रणमा लिनलाई सिभिल पोशाकमा प्रहरी खटाएको बताए।
‘साथीसंगतका कारण युवयुवती कुलतमा फस्ने गर्दछन्। अभिभावक सन्तानको आनीबानीमा सजग हुँदा लागुऔषधको दुर्व्यसनबाट जोगाउन सकिन्छ’, उनको सुझाव छ।
कास्कीमा गत आर्थिक वर्ष २०७८/७९ मा २४३ र २०७७/७८ मा १४९ लागु औषधसम्बन्धी मुद्दा दर्ता भएका थिए।